फरक ठाउको फरक संस्कार: एक महिने अमेरीका बसाईको एउटा अनुभव|

साथी सँगको सेल्फी!!!
म अमेरिका आएको आज करिब तिन हप्ता भयो| बिस्तारै यहाँको जनजीबन बुझ्दै छु| यहाँ आएदेखि केही दिन साथीको अपार्टमेन्टमा बसे र पछि सहमतिमा दुइटा कोठा भएको नयाँ अपार्टमेन्ट खोज्यौ र त्यहाँ सर्यौ| साथीको अपार्टमेन्ट क्षेत्रमा नयाँ व्यवस्थापन आएपछि बिना कुनै थप सुबिधा उसको कोठाको मुल्य करिब $१५० ले बढाएकोले गर्दा उसलेपनि नयाँ घर खोज्दै थियो भने मलाई पनि बस्न कोठा चाहिएकोले गर्दा नयाँ ठाउँमा संगै बस्ने भनि नयाँ कोठा खोज्यौ| करिब २ दिन लगाएर सरेपछि यहाँ करिब २ हप्तादेखि नयाँ ठाउँमा छु|

नयाँ ठाउको लागि केही खाद्द्यान्न र समानहरु आवस्यक पर्ने भएकोले गर्दा सामानहरु किन्न साथीको कार चढेर वालमार्ट र क्रोगर (यहाँ समानहरु पाहिने ठुलो पसल) गए| त्यो बेलामा नयाँ कोठामा सरिसकेको थिएनौ त्यही पनि मैले आफ्नै समान प्रयोग गर्नु उचित ठानेर दैनिक जीवनको लागी आत्यवस्यक समानहरु किन्दै थिए, साथीले मसँग भएको सामानहरु प्रयोग गर्दा हुन्छ भन्यो| त्यसपछि अड्कलेर केही समानहरु किने अनि केही समानहरु उसैको प्रयोग गर्दै थिए| आझै पनि कुनै उसकै समानहरु (जस्तै: पाउरोटी तताउने भाडो, चम्चा, गिलास, ओवन, नुन, कफी आदि) प्रयोग गर्छु|

मेरो साथी Rosny Jean (रज्नी जिन) अमिरिकी ग्रिन कार्ड भएको हेईटीको नागरिक र फ्लोरिडाको स्थाई बासिन्दा हो| हामी दुवै एउटै प्राध्यापकको लागी एउटै प्रोजेक्टमा काम गर्छौ| प्रोफेसर मार्फत चिनाजानी भएपछि म उसैसंगै बस्दै आएको छु| मान्छे सहयोगी र मिलनसार नै छ| उसको खान हाम्रो भन्दा अलि फरक भएपनि भात नै खाने भएकोले गर्दा खासै फरक अनुभव हुदैन| खासगरि तरकारी र मासुमा हाल्ने मसला अलि फरक पर्छ अनि उनिहरु भात पकाउदा गेडागुडी, गाजर, विभिन्न स्वादिलो मसलाहरु राख्न रुचाउछन् भने हामी सादा भात बढी खान्छौ| फरक त्यतिमात्र हो अनि मुख्य कुरा मलाई उनीहरुको देशको खान मन पर्छ| खासगरि मसलेदार मासु र माछासँग सादा भात खान मनपर्छ| मैले उसलाई उसको मासु पकाउने तरिका मलाई पनि सिकाउन कयौं पटक भनेको छु तर समय मिलेको छैन| त्यसरी पकाएको मासु निकै मिठो हुने भएकोले गर्दा मलाई त्यो रेसिपी सिक्ने रहर छ| जानेको खण्डमा म पनि त्यसरी नै पकाउने बिचारमा छु| :) :) :) हामी अहिलेसम्म कहिले मेरो देशको खान पकाउने कहिले उसको देशको खान पकाउने गरेर खान बाडेर खाने गर्छौ|
धेरै दिन पछि मैले उसलाई मलाई उसको खाना खान मन लागेकोले पकाउन भने| दिउसो अन्तै पाहुना बन्न जानु पर्ने भएकोले गर्दा सामान्य पाउरोटी र कफीमा बिहान टार्यौ| उक्त दिन बेलुका त्यो रहर पनि पुरा भयो| बिहानको लागी बेलुकाको केही खान बाकी थियो जुन दुई जनालाई बाडेर खान पर्याप्त हुन्थ्यो| मैले बिहान उठेर त्यो खान बाडेर खानुपर्ला भनेर खासै खाना पकाउन मिहेनत गरिन| बेलुका खान नपकाई सुते|

बिदा भएकोले बिहान १२ बजेतिर उठेर भान्सामा गएर हेर्दा त खाना सकिसकेको थियो| त्यत्रो खाना कसरी एक्लैले सक्यो भनेर केही अचम्म लागे पनि मैले उसलाई सोधिन| सामान्य पाउरोटी र कफि खाएर आफ्नो र साथीको लागी खान बनाउन तिर लागे| यहाँ करिब एक बजे तिरमात्र खाना खाने भएकोले बिहानै खाजा खाएको साथी पनि भोकाएको होला भनेर दुबैलाई खाना बनाउदै थिए| तरकारी काटेर सकेपछि साथी आइपुग्यो र बेलुका आफुले पकाएर फ्रिजमा राखेको भात र माछा निकालेर खान थाल्यो; म हेरेको हेरै भए| उसले खाना फ्रिजमा राखेको कुरा मलाई थाहासम्म पनि थिएन|

भान्सा कोठा
मैले केहिदिन अघिमात्र खानासंगै बनाउने तर लागेको खर्च लेखेर राखेर महिनाको अन्तिममा हिसाब गरेर आधा-आधा गर्ने भनेको थिए| उसले आफ्नो खाना खादै आज फेरी त्यही कुरा दोहोर्यायो तर कुरा अलिकति फरक थियो| उसको अनुसार, मेरो खान उसलाई मन नपर्न सक्छ, वा मेरो खाना उसलाई मन नपर्न सक्छ  वा मैले ल्याएको सामग्री उसले कम प्रयोग गरे त्यसको पैसा उसले आधा तिर्न नसक्ने र उसले ल्याएको खाना मैले थोरै खाए भने मैले आधा पैसा तिर्न गारो हुने जस्ता कुरा बतायो| म यहाँ उसैले दिएको एउटा उदहारण प्रस्तुत गर्न चाहन्छु: उसले एक बोतल कोक वा एउटा काउलीको थुंगा ल्यायो र त्यसको आधा भन्दा बढी मैले खाए अनि आधा भन्दा कम उसले खायो भने त्यसको आधा पैसा उसले तिर्न नसक्ने र कति खायो भनेर नाप्ने उपयुक्त मापदण्ड नभएकोले गर्दा मैले कति पैसा तिर्ने भन्ने कुराको फैसला गर्न गारो हुने कुरा बतायो| त्यसैले छुट्टाछुट्टै खान बनाउने अनि सँगै खान मन लागे एकले अर्कालाई आमन्त्रण गर्नुपर्ने, त्यो बेलामा सँगै खान सकिने साथै अर्काको खाना अनुमति बिना कसैले पनि खान नपाउने कुरा बतायो| अर्को अचम्मको कुरा त के भने, मैले उसले पकाएको खान खाए भने उसले अड्कलेर दिएको खाना खानु पर्ने अनि पेट भरिएन भने फेरी आफै पकाएर खानु पर्ने साथै खाना बाडेर खादा एउटा प्लेट वा भाडोको नाप बनाएर उसले मलाई खान दिदा होस् वा मैले उसलाई खान दिदा होस्, त्यही भाडोको नापले खान दिने/लिने कुरा बतायो| त्यो मेरो हकमा मात्र नभएर उसको हकमा पनि त्यही लागु हुने कुरा बतायो| साथै उसको पाहुना आउदा मैले पाहुनाको लागी खानाको चिन्ता गर्नु नपर्ने र मेरो पाहुना आउदा उसले पाहुनाको लागी खानाको चिन्ता गर्न नपर्ने कुरा बतायो| मलाई भने यो चलन अचम्म लाग्यो त्यही पनि आफ्नो अनुसार खान पाहिने भएकोले गर्दा स्वीकारे| फेरी आ-आफ्नो खाना खान नस्वीकार्नु पर्ने पनि त्यस्तो केही थिएन|

त्यसको अर्को दिन मेरो अपार्टमेन्ट पार्टनरको एकजना साथी घरमा केही खाने कुरा लिएर हामी बस्ने घरमा आइन्| खासमा तिनको ल्यापटपको स्क्रिन बिग्रिएर बनाउन आएकी थिईन्| यहाँ खासगरी पुराना सामग्री मर्मत गर्न निकै महँगो पर्ने हुनाले प्रायः जान्ने साथीको सहयोग लिने चलन छ| मैले सोचे नेपालमा जस्तै साथीसँग महत्वपूर्ण काम लिन जादाँ खाने कुरा लिएर जाने चलन जस्तै होला तर कुरो अर्कै रहेछ| ति केटीले आफ्नो लागी खाना ल्याएकी रहिछिन्| त्यो खाना मेरो साथीले पकायो| खाने बेलामा मलाई आमन्त्रण गर्यो; हामी संगै बसेर खान खायौ| एकछिन पछि ति केटि गईन्| भान्सामा गएर हेर्दा त बचेको खान सबै सकिएको थियो अनि भाडा सबै खाली थियो| तर मेरो साथी भने नरमाइलो मान्दै भन्दै थियो,"भोलि बिहानको लागी अलिकति छोड्दिन्छे कि भनेको सबै लगिछे|" अनि मैले कस्तो हो त त्यो सबै खान उठाएर लाग्ने भनेर आक्रोश पोख्दै के थिए साथीले त्यो उसले किनेको खानेकुरा भएकोले गर्दा त्यसमा उसको पूर्ण हक लाग्ने र लैजान पाउने उसको आधिकार हो|  हाम्रो लागी त्यो खाना छोड्न बाध्य हुँदिन भन्दै उसले मलाई पकाएको पैसा लिन्छस् भन्दै थिई, तर मैले पर्दैन भने भन्दै थियो| म भने अचम्म मानेर हेदै थिए|

अनि बल्ल अमेरिकीहरुको चालचलन र संस्कार अनि हिजो मलाई साथीले मलाई भनेको कुरा छर्लंग भयो अनि मनमनै मुस्कुराउदै आफ्नो अर्ध-पेट भर्न आफ्नो खाना तताएर खाएर कोठामा सुत्न आए| साथीको लागी भने खाना थिएन अझ भनौ उसले पकाएको थिएन, खानलाई खै उसले के गर्यो थाहा भएन| मैले खाना खाँदा बाहिर गएको थियो ऊ कुन बेला आयो थाहा पाईन; सायद थाहा पाएको भए खान अफर गर्थे होला| भोलिपल्ट पनि मैले उसलाई खाना अफर गर्न पनि भुलेछु| बिहान पनि उठेर कता गयो तर मेरो खाना घटेको थिएन भने उसको भाडा पनि जुठो थिएन; सायद पकाएन क्यारे| म भने यस्तै रहेछ यहाँको चलन भनेर चित्त बुझाए|

[नोट: मैले यो लेख लेख्दा साथीसँग गुनासो गर्न, खिल्ली गर्न वा अरु कुनै कारणले लेखेको हैन; मैले अनुभव मात्र सुनाएको हो| यसलाई अन्यथा रुपमा नलिईदिनुहुन बिनम्र आग्रह गर्छु|]
Post a Comment