नेपालको कृषि क्षेत्रमा सूचना प्रबिधि प्रयोग|

नेपालमा सूचना प्रविधिको विकास:
आज भन्दा १०-१५ वर्ष अघिमात्र पनि नेपालमा सूचना प्रविधिको विकाश त्यति हुन सकेको थिएन| मान्छेहरु एक ठाउँबाट अर्को ठाउँसम्म कुनै चिठी पत्र वा समाग्री पठाउन पर्यो भने निकै झन्झटिलो मानिने हुलाकबाट वा आफ्नो गाउँघरको कोही व्यक्ति बाहिर सामग्री पठाउन पर्ने ठाउँसम्म जादै छ भने उसको जिम्मा लगाएर पठाउन पर्ने बध्यता थियो| समयसंगै भएको सूचना प्रविधिको विकाशले गर्दा आजको यो समयसम्म आइपुग्दा यी झन्झटहरु व्यहोर्नु पर्ने बध्यता छैन| आफ्नै गोजीमा राखेर लिएर हिड्न मिल्ने सानो प्रविधिको प्रयोगले आजकल कामहरु धेरै छिटो र छरितो रुपमा गर्न सम्भव भएको छ|
     
बि. सं.  सालमा नेपाल सरकारको मातहतमा रहेर दुरसंचार संस्थानको स्थापनासंगै नेपालमा औपचारिक रुपमा सूचना प्रबिधिको प्रयोग र बिकाश हुन थालेको मानिन्छ| त्यो भन्दा अगाडी सूचना प्रविधिको प्रयोग यदाकदा भएतापनि नियमित र सर्भसुलभ नहुँदा त्यति फस्टाउँन सकेको थिएन| त्यसका अलवा दश वर्षे जनयुद्धको कारणले गर्दा पनि सर्बसाधारणलाई सूचना प्रविधिको प्रयोग गर्न त्यति सहज थिएन|
      जनयुद्धको समाप्ति र शान्तिको प्रक्रियाको थालनीसंगै नेपालमा सूचना प्रविधिको प्रयोग बढ्न थाल्यो| एकातिर रेडियो, एफ.एम्., टिभी तथा केवल व्यवसाय जस्ता प्रविधिहरु सस्तो, सर्भसुलभ र सजिलो हुने कारणले गर्दा यिनीहरुको प्रयोग एकाएक बढ्न गयो भने अर्कोतिर दुरसंचार संस्थानले तारयुक्त प्रविधिमा आधारित फोन सुबिधा र ताररहित पेजर र मोबाइलजस्ता प्रबिधिहरु भित्र्याउन थाल्यो|
बिशेष गरेर ग्रामिण क्षेत्रमा रेडियो, एफ.एम्. र सहरी क्षेत्रमा टिभी तथा केवल व्यवसाय साथै तारमा आधारित फोन र ताररहित पेजर, मोबाइल जस्ता प्रविधिहरुको प्रयोग बढ्न गयो| सहरी क्षेत्रमा पाएको सफलता पश्चात यी सुबिधाहरु ग्रामिण क्षेत्रमा पनि विस्तार हुन थाले| विस्तारै नेपालमा विभिन्न संघ-संस्थाहरु सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन थाले जसको फलस्वरूप यो क्षेत्रमा प्रतिष्पर्धा बढ्न गई तारयुक्त फोन र ताररहित मोबाइलजस्ता प्रविधिहरु अझ सस्तो र सर्भसुलभ हुन थाले|
यसका साथै ति संघ-संस्थाले आफ्नो सेवा तथा सुबिधाहरु विस्तार एबं परिस्कृत गर्दै लागे जसको कारणले गर्दा मान्छेहरुको घरघरमा तथा हातहातमा फोन, इन्टरनेटजस्ता सुबिधाहरु सस्तो र सहजै उपलब्ध हुन थाल्यो| नेपालमा इन्टरनेटको विकाससंगै सुचना प्रविधिको क्षेत्र एउटा नयाँ मोडमा प्रवेश गर्यो| यसले व्यापारिक, बैकिंग, पर्यटन आदि जस्ता व्यवसायहरुलाई सहज र प्रतिस्पर्धी बनाइदियो| यसका अलावा युवाहरुमा इन्टरनेट, मोबाइलको जस्ता प्रविधिको प्रयोग बढ्न गयो| आज सूचना प्रविधिको प्रयोग विना दैनिक जिवनको परिकल्पना गर्नसम्म पनि सकिदैन| कुनै काम गर्दा, कतै घुम्न जादाँ होस् वा कसैलाई भेट्न जादाँ, हामी एकपटक फोन वा SMS गरेर मात्र निस्कन रुचाउछौ|
कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोग: हालको अवस्था|              
      नेपाल एक कृषि प्रधान देश हो| बहुसंख्यक नेपालीहरुको दैनिक जिवनको गुजाराको प्रमुख आधार कृषि नै हो| कृषि मन्त्रालयको आधिकारिक वेबसाइट अनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् भने नेपालको कुल ग्राहस्व उत्पादन मध्य करिव ३३ प्रतिशत कृषिले धानेको छ| तर कृषि उत्पादनहरुले उपयुक्त बजार र उचित मुल्य नपाउदा ति उत्पादनहरु कि त कम मुल्यमा बेच्नुपर्ने हुन्छ या बिना सित्तिमा खेर गइरहेको हुन्छ| थोरै मात्र कृषकहरुले मात्र सूचना प्रविधिको प्रयोग गरेर आफ्नो व्यवसायलाई परिस्कृत, समुन्नत र नाफामुखी बनाउन सकेका छन्| कृषिका उत्पादनका लागि आवस्यक कच्चा पदार्थहरुको मुल्यसुची, उपलब्धता, तथा गुणस्थरको बारेमा भरपर्दो र विश्वासिलो सुचनाको अभावमा कृषकहरु ठगिन बाध्य छन्| यदाकदा केही जागरुक किशानहरुले विभिन्न श्रोतहरुबाट प्राप्त सुचनाको आधारमा गुणस्तरिय कच्चा पदार्थ खरिद गर्ने र आफ्नो उत्पादनको उचित मुल्य पाउने गरेको भएतापनि बहुसंख्यक कृषक यी सुविधाहरूको पहुचबाट टाढै छन्|
      दैनिक जिवनको अभिन्न अंग बनेको सूचना प्रविधिको प्रयोग कृषिको क्षेत्रमा पनि गर्न सकियो भने उत्पादनको बजारीकरणमा सहजता आई आम्दानी र मुनाफा दुवै बढ्नुका साथै कृषि क्षेत्रमा युवाको आकर्षण बढ्ने हुन्छ| नेपालमा सूचना प्रविधिको बिकाशसँगै विभिन्न क्षेत्रहरुमा यसको प्रयोग पनि बढ्दो छ| कृषि क्षेत्र पनि सूचना प्रविधिको प्रयोग गर्न सकिने एउटा सम्भावना बोकेको क्षेत्र हो|
कुन प्रविधिको प्रयोग कसरि गर्न सकिन्छ?
केही वर्ष अघिसम्म  मोवाइल लिएर हिड्नु भनेको सम्पन्नताको प्रतिक मानिन्थ्यो; यो मानिसको आवस्यकता भन्दापनि सोख थियो| तर यसको विस्तार एवम् विकाशसँगै मोवाईल मानिसको आवस्यकता बनेको छ| आजकल स्कुले बालबालिका देखि अङ्क-अक्षर छुट्टाउन नजान्ने वृद्धको हातहातमा मोवाइल झुन्डिएको पाईन्छ| यसले कृषिको क्षेत्रमा मोबाइल प्रयोग गर्न सकिने सम्भावनालाई बढाई दिएको छ| धेरै अफ्रिकी मुलुकमा निकै सफल र प्रभावकारी मानिएको SMS तथा फोनबाट बजार मुल्यसूचिको जानकारी दिने, उत्पादन, माग तथा अपूर्तिको बारेमा जानकारी दिने, उपयुक्त बजारको खोजि गर्नको साथै कृषि उत्पादनको लागि चाहिने कच्चा पदार्थ, यसको मुल्य सुची र पाहिने ठाउँहरुको बारेमा जानकारी उपलब्ध गराउन मोवाईल निकै सहयोगी सिद्द हुनसक्छ|
सरकारी तवरबाट कृषकलाई कृषि उत्पादन प्रविधिहरुको प्रयोग गर्नको लागि तथा आफ्नो खेतबारीमा देखिएका समस्याहरुको समाधानको उपयुक्त विधिहरुको बारेमा जानकारी लिनको लागि विभिन्न हट-लाइनहरुको ब्यबस्था गर्न सके सरकारी अनुसन्धान केन्द्र तथा किशानहरु बिचमा देखिने खाडलमा केही कमि आई सुविधालाई चुस्त दुरुस्त पार्न सकिनुका साथै र समस्या समाधानमा सहजता ल्याउन सकिन्छ| साथै कृषकको समस्याहरु प्रत्यक्ष रुपमा बुझ्न सकिने हुनाले अनुसन्धानमा पनि सहजता ल्याउन सकिन्छ|
थोरै लगानीमा धेरै ग्राहकसम्म प्रत्यक्ष रुपमा पुग्न सकिने हुनाले टिभी तथा रेडियो आफ्नो उत्पादनको विज्ञापनको लागि सबैभन्दा सहज र सस्तो माध्यम बन्न सक्छ| बिशेष गरेर केवल लाइन, टिभी, रेडियो, एफ.एम. जस्ता प्रशारणका माध्यमहरु आजकल गाउँ-गाउँमा सजह रुपमा पुग्ने साथै सहरी भूभागमा पनि उत्तिकै लोकप्रिय भएकाले ग्रामिण र सहरी भागलाई जोडनको लागि राम्रो पुल बन्न सक्छ| ग्रामिण भागमा उत्पादन भएको कृषि उत्पादनहरुलाई सहरमा लगेर बेच्न सकियो भने उत्पादनले राम्रो बजार मुल्य पाउनाका साथै सहरी भूभागका उपभोग्ताहरुले पनि ताजा उत्पादनहरु खान पाउने हुन्छ|
      कृषि उत्पादनको बजार प्रबर्धनको लागि इन्टरनेटको प्रयोग पनि अर्को उत्तम विकल्प बन्न सक्छ| विश्व भरि एकैसाथ पुग्न सक्ने सामर्थ्य राख्ने यो प्रविधिको प्रयोगले आफ्नो देशमा मात्र नभएर विदेशको बजारमा पनि आफ्नो उत्पादनलाई प्रबर्धन गर्नको लागि सहजता प्रधान गर्छ| विभिन्न सामाजिक संजालहरु जस्तै: फेसबुक, तुइटर, युट्युब आदिको प्रयोग गरेर उत्पादनको बजारीकरण गर्न सकिन्छ| सामाजिक संजालको अलवा महंगा वेबसाइटको विकल्पको रुपमा देखिएका ब्लगहरुको प्रयोग गरेर आफ्नो उत्पादन रास्ट्रिय तथा अन्तरास्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ| फेसबुक, तुइटर जस्ता सामाजिक संजालहरुले निशुल्क रुपमा आफ्ना उत्पादनको प्रबर्धन गर्ने सुविधा दिनुका साथै निश्चित रकम तिरे पछि आफुले चाहेको ग्राहकसम्म सूचनाहरु पुर्याईदिने सुविधाहरु दिएका छन्| ब्लग र सामाजिक संजालहरु प्रयोग गर्न सहज र सस्तो पर्नुका साथै आफुले चाहेको जसरी प्रयोग गर्न सकिने हुनाले यी प्रविधिहरु युवाहरु माझ पनि निकै लोकप्रिय छन्| युवाहरुको यी सामाजिक संजालप्रतिको झुकाबलाई पनि ध्यानमा राख्दै उनीहरुलाई पनि समेटेर काम गरियो भने युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्न सकिन्छ| विदेशमा युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्नको लागि यो प्रविधिको प्रयोगको सुरुवात भइसकेको छ| नेपालमा पनि यसको प्रयोग फ्याट्टफुट्ट देखिए पनि प्रभावकारी रुपमा हुन सकेको छैन|
घर-घरमा इन्टरनेट सुविधा प्रयोग गर्न गरिब किसानहरुको लागि केही महँगो हुनसक्छ| त्यसको बिकल्पमा टेली-सेन्टरको व्यवस्था गर्न सके सजिलो, सस्तो र सर्भसुलब रुपमा गाउँ-गाउँमा गरिब किसानहरुको पहुचमा इन्टरनेट सेवा पुग्न सक्छ| टेलिसेन्टर शहर-बजारमा सामान्य बनेका साइबरको अबधारणामा आधारित प्रविधि हो जसले गाउका किशानलाई कृषि लगायत अन्य कुराहरुको बारेमा पनि जानकारी दिन्छ| जसमा यसले सम्पूर्ण किसानहरुलाई बजारको माग-आपूर्ति, मुल्यसुची, कच्चा पदार्थको उपलब्धता, किरा तथा रोग नियन्त्रण आदिको बारेमा उपयुक्त जानकारी मिल्नुका साथै उपयुक्त रोजगारीको आभावमा विदेशीन बाध्य युवा जमातलाई कृषि क्षेत्रमा तान्न सजिलो भइ रेमिटान्स माथिको निर्भरतालाई कम गर्छ| यसले देशको विकाशमा पनि महत्वपूर्ण भूमिका खेल्नेमा कुनै दुबिधा छैन|
त्यसैगरि सहरी क्षेत्रमा बसोबास गर्ने मानिसको ब्यस्त दैनिक जीवनशैलीको कारणले गर्दा ई-मार्केटिंग ब्यापारको नयाँ विकल्पको रुपमा देखिन थालेको छ| यो सुविधाको प्रयोगले ग्राहकको घरसम्म उत्पादन उत्पादक वा ब्यापारीले पुर्याउने हुनाले गर्दा उत्पादनको गुणस्थर थप विश्वसनीयता आउनुका साथै उत्पादक र व्यापारीको आम्दानीमा वृद्धि हुनेमा पनि कुनै शंका रहदैन| यो प्रविधिको प्रयोग गर्दा उत्पादक र ग्राहक बिचमा सिधा सम्पर्क हुनाका साथै आर्थिक लेनदेनको कुराहरु पनि चुस्त दुरुस्त राख्न सकिने हुनाले यो प्रविधिको प्रयोगले ग्राहक, उत्पादक तथा ब्यपारी सबैलाई फाइदा पुग्नेमा कुनै संका छैन|

समग्रमा भन्नु पर्दा नेपालले सूचना प्रविधि क्षेत्रमा निकै छोटो समयमा निकै धेरै प्रगति गरेको छ| साथै कृषि नेपालमा संभावना बोकेका क्षेत्रहरु मध्य एक प्रमुख क्षेत्र हो| तर कृषक र बजार बिचमा सूचना आदान-प्रदानको उपयुक्त मध्यमको अभावमा बजारमा खाद्यवस्तुको अभाव हुने साथै कृषकले आफ्नो उत्पादन कम मुल्यमा बेच्नु पर्ने अथवा खेर फाल्नुपर्ने अवस्था छ| यस्तो अवस्थामा सुचना प्रविधिको प्रयोग कृषि क्षेत्रमा पनि गर्न सकेको खण्डमा कृषक ठगिन जोगिनुका साथै उत्पादनको उपयुक्त बजार मुल्य पाउने भई आम्दानी पनि बढ्ने हुनाले कृषि क्षेत्रले व्यवसायिक रुप लिन धेरै समय लाग्दैन| साथै सूचना प्रविधिको मध्यमबाट देश बिदेशमा सजिलै आफ्नो उत्पादनको बजार खोज्न सकिने हुनले नयाँ सम्भावनाहरुको पनि उजागर गर्न सकिन्छ|
(यो लेख "प्रकृति प्रबाह" नामक रास्ट्रिय त्रैमशिक पत्रिकाको पहिलो अंकमा प्रकाशित छ|)
Post a Comment