होम-स्टे बसाईको पहिलो अनुभव र गत्लांगको यात्रा|

फेव ५, २०१४

      सुआहरा कार्यक्रमको लागि राडारमा नियुक्ति लिएको पनि करिब २० दिन जति भएछ| यो अवधिमा रसुवा जिल्लाको केही ठाउँहरुमा फिल्ड जाने मौका मिल्यो: जस्तै मेरो पहिलो फिल्ड लहरेपौवा गा.वि.स.को कुवापानीको स्कुल र भलाय-डाडा, भोर्ले गा.वि.स.को सर्सियु र किमार्जुंग, धुन्चेको नजिकैका केही ठाउँहरु आदि| मलाई लाग्छ यो थोरै समयमा मैले धेरै ठाउँहरु घुम्ने मौका त पाएको छैन तर घुमेको ठाउँहरुमा कतैपनि यति धेरै दैनिकी लेखौ-लेखौ कहिले पनि लागेको थिएन| तर आज मलाई बाहुनडाडाको होम-स्टेको अनुभव साट्न निकै नै मन लागेको छ|

      मैले काम गर्ने संस्था राडारद्वारा संचालित घरायसी खाद्द्यान्न उत्पादन परियोजना अन्तर्गत  १००० दिनको महिलाको [गर्भवती भएको दिनदेखि बच्चा दुई वर्ष हुँदासम्मको अवधिलाई हजार दिन भनिन्छ| (९*३०+३६५*२=१००० दिन)] पोषण र स्वास्थ्य स्थितिको सुधारको लागि रसुवा जिल्लाको सबै गाविसमा मौसम अनुसारको तरकारीको बिउ तथा कुखराको चल्ला वितरण गर्ने गरेको छ| यो मौसम (फाल्गुन, चैत र बैशाख)मा हुने मौसमी तरकारीको बिउ वितरणको कार्यक्रम अन्तर्गत यसपाली क्याङ्गकोङ बालीको थाई पालुंगो नामक जात, स्क्वास बालीको ग्रे जुकिनी जात, पालुंगो बालीको काँडे जात, खुर्सानी बालीको पुसा ज्वाला, भिंडी बालीको पुसा साउनी, सिमी बालीको चौमासे जात, भन्टा बालीको पुसा पर्पल लंग जात र स्विसचार्ड बालीको सुसाग जात वितरण गर्ने कार्यक्रम परेको छ|

    यसै कार्यक्रमको तयारीको गर्दागर्दै आजको दिन बित्यो| मेरो जिम्मेवारी कृषि तर्फको कार्यक्रमको योजना-तर्जुमा तथा सुपरिवेक्षण परेकोले मैले नै सबै चाजोपाजो मिलाउनुपर्ने थियो| त्यसैले बिहान करिब ९ बजे देखि नै कार्यालयमा ब्यस्त हुन पुगे| बिहानदेखि नै बिउ छुट्टयाउने देखि लिएर फिल्ड सुपरभाइजरहरुलाई फोन गरेर जानकारी गराउने सम्मको काम गर्दागर्दै करिब ४ बजिसकेको थियो| तालिम लगायत अन्य क्रियाकलापहरु अबलोकनको लागि म र गान्धी राज वाग्ले सर गोल्जुंग जाने कार्यक्रम केही दिन अघि नै तय भएकोले त्यो ठाउँको लागि आवस्यक बिउ मैले लिएर जाने पक्कापक्कि भएको थियो| यसै अनुरुप सबै कार्यक्रम तय गरेतापनि गान्धी सर काम बिषेशले गर्दा जान नमिलेपछि म एक्लैले उक्त सामग्री लग्नुपर्ने भयो|

तस्बिर: बाहुन-डाडाको प्रवेश गर्ने मुख| यहाँ ४-५ ओटा घरहरु मात्र छन् भने एउटा काठबाट बनेको होटलजस्तो देखिने घर निर्माणाधीन छ| यहाँबाट बिहानमा सुर्योदय र लानटांग हिमालय सृखंला अनि रातिमा चिलिमे जलबिद्ध्युतको जलासय, चिलिमे र गोल्जुंग गाउँ  निकै राम्रो देखिन्छ|
   धुन्चेबाट गोल्जुंग जाने गाडी करिब २ बजे सम्ममात्र पाईने भएतापनि सान्जेन हाइड्रो पावरको अफिसको गाडी त्यही ठाउँ हुदै जाने भएकोले यातायातको कुनै समस्या परेन| यो व्यवस्था त्यहाँका इन्जिनीयर दिल्ली राई लाई संग कुरा गरेर मिलाईएको थियो|  बेलुका जुनै बेला पुगेपनि फरक नपर्ने भएकोले पनि दिनभरि कार्यलयको काममा ब्यस्त भईयो| बेलुका करिब ६ बजेतिर मात्र हाम्रो यात्रा सुरु भयो| धुन्चेबाट स्याफ्रुबेसी हुदै बाहुन-डाडासम्मको कतै कच्ची कतै पक्कि अनि सागुरो बाटो हुदै करिब ७:१५ तिर बाहुन-डाडा पुगियो|

बाहुन-डाडाको बारेमा संछिप्त जानकारी|
बाटोको ठिक्क माथि पर्ने पहिरोले च्यापेको तर  मान्छे बस्ने गरेको घर| 
    चारैतिर बाट पहाडले घेरिएको र समुन्द्री सतहबाट करिब २००० मिटर माथि पर्ने बाहुन-डाडा म आजसम्म, नेपालमा, पुगेको ठाउँहरु मध्ये करिब-करिब सबैभन्दा उच्च भूभागहरु मध्ये एउटा पर्छ| नाम बाहुन-डाडा भएतापनि यहाँ बाहुनहरुको बस्ति भने देख्न सकिदैन| म बसेको ठाउँमा ४-५ ओटा भन्दा धेरै घरहरु छैनन्| यहाँको घरको संरचना मैले यो भन्दा अगाडी लेखेको ब्लगपोस्टमा बयान गरेको जस्तै ढुंगाको तर सिमेन्ट-बालुवा वा माटोले नजोडेको भित्ता, टिनको छाना भएको र भित्रपट्टि काठले बारेको नै छ| कतिपय ठाउँमा पहिरोको ठिक तल घरहरु बसेको छ भने कतिपय घरहरु पहाडको भिरालोमा बनाईएकाले जोखिमको हिसाबले यो ठाउँमा बस्नु निकै खतरनाक छ| तरपनि पर्यटकिय हिसाबले घुम्न आउन, बस्न र यहाँको जनजीवन बुझ्नको लागि यो एउटा उपयुक्त थलो बन्नसक्छ|
काठको आधिकतम प्रयोग गरेर बनाइएको घर| यो घरमा होटल खोल्ने तयारी भएको कुरा स्थानीय बासिन्दाहरुले भनेका थिए|

     प्रमुख भाषा तामांग भाषा भएकोले यहाँका मानिसहरुलाई नेपाली भाषा बुझ्न पनि मुस्किल पर्दोरहेछ तर डिस-होमले गर्दा हिन्दी टिभी च्यानलहरु भने प्राय: सबै हेर्न पाईने रहेछ| हिन्दी टिभी च्यानलहरु प्राय: बाहिरबाट आउने पाहुनाहरुले हेर्ने गरेको कुरा म बसेको घरको घरबेटीसंगको कुराकानीबाट थाहा लाग्यो| 

    यहाँ धुन्चेमा भन्दा पनि धरै हावा चल्ने भएकोले गर्दा जाडो पनि धुन्चेको तुलनामा धेरै नै छ| त्यसैले यहाँको मानिसको लगाई पनि करिब-करिब भोटेहरुसंग मिल्न पुग्छ| उनिहरुले लगाउने कपडाहरु फोहोर देखिन्छन्| (सायद, जाडोमा चिसोले गर्दा धुन गार्हो भएर पनि हुन सक्छ|) तर उनीहरुले लगाउने कपडाको आधारमा आधारमा उनीहरु बस्ने, सुत्नेजस्ता ठाउँहरु पनि फोहोर होलान् भनेर आड्कल-बाजी गर्यो भने त्यो गलत साबित हुन पनि सक्छ| 
मेरो लागि तयार गरिएको खाना| यो सबै परिकार म आएपछि नै तयार भएको हो|


    खानाको रुपमा भने चामलको भात वा गहुको ढेडो र अन्यत्र जस्तै तरकारी (तरकारीमा प्राय: आलु मात्र) अनि दाल नै खाने चलन रहेछ| यहाँ स्थानीय रुपमा उत्पादन हुने बोडी र मुसुरोको दाल बढी प्रचलित छ| चामल पनि यहाँको स्थानीय जातको नै बढी चलन चल्तीमा रहेछ| स्थानीय चामल एक-अर्कामा चपक्क टासिने, डल्लो गोलो जातको, रातो-रातो रंगको तर निकै गुलोयो र मिठो हुने रहेछ| सुरु-सुरुमा खान केही गारो भएपनि केही गास खाएपछि यो चामल निकै मिठो लाग्न थाल्छ|

    बाहुन-डाडाबाट तल हेर्दा चिलिमे जलबिद्ध्युतको जलाशय निकै तल तर, रातिमा बत्तीले झिलिमिली हुदा, रमणीय देखिन्छ| अहिले मैले यो ब्लग-पोस्ट लेख्दै गर्दा बाहिर निकै जोडले हावा चलेको भएतापनि भित्र तुलानात्मक रुपमा जाडो कम छ| यहाँको हावा पानि निकै चिसो छ| एकछिन टोपी खोलेर बाहिर टाउको निकालेर बस्दापनि टाउको दुख्छ| 

होम-स्टेको पहिलो अनुभव|
फोटो: मैले पहिलो पटक होमस्टेको अनुभव बटुलेको घर| अगाडी माथिल्लो तलामा देखिएका कोठाहरु पाहुनालाई सुताउन प्रयोग हुन्छन्|
    डिल्ली लिम्बुसंगको करिब एक घन्टाको रमाइलो तर जोखिमपूर्ण यात्रा पश्चात बाहुन-डाडा प्रवेश गरियो| यो गाउँ निकै सानो भएकोले कुनबेला सुरु हुन्छ र कुनबेला सकिन्छ थाहा नै नहुने रहेछ| प्रवेश गर्नासाथै बाटोको तलपट्टी छेउमै पर्ने ढुंगाले बनाएको दुइजना बुढाबुढीमात्र बस्ने एउटा घरमा होम-स्टेको प्रबन्ध गरिएको रहेछ| ढोकाबाट छिर्ने बित्तिकै ४/५ ओटा कुर्सि र एउटा प्लास्टिकको टेबल राखिएको  एउटा कोठा छ भने अर्को पट्टि २ ओटा जति टेबल र बेन्च मिलाएर राखिएको कोठा रहेछ जसको सजावट पनि सामान्य नै छ: एउटा सानो टिभी, छेउमा भान्सा, सानो पसल, यस्तै-यस्तै छ| म पुग्दा ३/४ जना स्थानीय बासिन्दा जस्ता देखिने व्यक्तिहरु आफ्नै भाषा (तामांग भाषा) मा कुराकानी गर्दै खाना खादै हुनुहुन्थ्यो; कुन बेला निस्कनु भयो थाहा भएन|

    सुरुमा मलाई उक्त घरभित्र पस्दा डरलाग्ने फिल्महरुमा (Horror Films) देखाउने घरभित्र पसेको जस्तो आभास भएको थियो| नौलो ठाउँमा अध्यारो कोठा भित्र ५/६ जना मानिसहरु नबुझ्ने भाषामा कुरा गर्दै सबैले पालैपालो आफूतिर हेर्दै फर्कदै गर्दा डर नमान्ने सएदै कोही होला| सुरुमा ति मानिसहरु  लगायत म बसेको घरबेटीहरु देख्दा केही डर लागेतापनि पछि कुरा गर्दै जाँदा ति मानिसहरु मलाई निकै इमान्दार लाग्न थाल्यो| बिस्तारै डर हराएर उनिहरुसंग घुलमिल हुन थालीसकेको थिए|

   यहाँ पाहुनालाई आउने बित्तिकै खाना खाएको नखाएको सोध्ने र नखाएको भए पकाएर खुवाउने चलन रहेछ| मलाई बस्ने कोठा देखाएर घरबेटी दिदि खाना बनाउन तिर लग्नुभयो; म भने वरीपरिको दृश्य हेर्न तिर लागे| एकछिनमा खाना पाकेपछि खाना खाईवोरी घरबेटी दिदि र दाईसंग गफ गर्नतिर लागे| कुरै कुरामा उहाँको छोराछोरि काठमाण्डौ होस्टलमा पढ्न बस्ने, दाई ज्यालादारीमा कुल्ली र काठको काम गर्ने र आफ्नो छोरा छोरीलाप्रति महिना एक जनाको करिब नेरु ६०००/- को दरले फी र अन्य खर्च पुर्याउन पसल, रक्सि व्यापार, होम-स्टे र ज्यालादारी कामले पुग्ने कुरा थाहा लाग्यो| यहाँ होम-स्टे र खानाको निकै सस्तो पर्ने गर्छ| यहाँ मैले रकम नै त नखुलाउ होला, तर हामीले बाहिर सामान्य होटलमा खाना खाए र सुते बापत तिरेको पैसाको तुलनामा यहाँ निकै सस्तो छ| यो ठाउँको भौगोलिक अवस्था, उत्पादन अनि मिहिनतलाई विचार गर्ने हो भने हामीले तिरेको पैसा ज्यादै न्युन लाग्छ|

फोटो: काठले बारिएको सुत्ने कोठा| 
घरको माथिल्लो तल्लामा बनाएको चर्पी|
     म बसेको कोठाको चारै भित्ता माथि भनिएको जस्तै ढुंगाले बनाएको छ भने भित्र छ ओटा पाटा नै काठले बारिएको, दुइ ओटा झ्याल र एउटा सानो बत्ति, एउटा स्विच र ल्यापटोप जोड्न मिल्ने ठाउँ, अनि दुईओटा खाट राखिएको छ भने सरसफाईको हिसाबले पनि राम्रै लाग्ने खालको छन्| यहाँ काठ सस्तो पर्ने भएकोले गर्दा होला, पुरै घर काठ मात्रैले पनि बनेको छन्| पहिलो तल्लामा भएको कोठामा जानको लागि बाहिरबाट नै उक्लन मिल्ने गरि घर तयार गरिएको छ भने चर्पीको लागि पनि तल जानुपर्दैन| चर्पी सफा र गन्धविहिन छ|

      नयाँ ठाउँमा नयाँ अनुभव लिनु निकै उत्साहजनक हुदो रहेछ| कुनैपनि तरिकाले होटलजस्तो नदेखिने घरमा पाहुनाको सत्कारको लागि व्यवस्था गर्नु र त्यसको पाहुना बनेर बस्न पाउदा जीवनमा एउटा नयाँ सुखद अनुभूति भएको छ|

फेव ५, २०१४

          हिजो बाहुन-डाडाको बसाईपछि आझै उचाईमा पर्ने गत्लांग गाविससम्म को यात्रा तय गर्दै आज गत्लांग  गाउँको ठिक्क माथि भएको 'पाल्दोर पिक होटल'मा आएर बसेको छु| यहाँ पनि खासै होटलहरु नभएकोले गर्दा होम-स्टेको प्रचलन छ| म बसेको होटलमा प्राय: ट्रेकिंगमा आउने बिदेशी पाहुनाहरु आएर बस्ने भएकोले गर्दा आक्सर खाली हुदैन| तर मेरो लागि भने गत्लांग गाविस हेर्ने साथी कार्सांग दावा तामांगले व्यवस्था मिलाउनु भएकोले गर्दा समस्या परेन|

        क्यामरा मेरो साथमा नै भएकोले गर्दा बाटोमा आउदा विभिन्न किसिमका दृश्यहरुको फोटो खिच्दै मोबाईलमा रहेको गीतहरु सुन्दै हिड्दै गर्दा यात्रा झनै रमाइलो भयो| बाटोमा काठको धाराबाट पानीको थोपाहरु चुहिदाको दृश्य, फुलेको बेलको फुल, बाटोमा देखिएको जंगल तथा खोला नाला लगायत विभिन्न दृश्यहरु क्यामेरामा कैद गर्दै गर्दा करिव दुई घन्टाको पैदल यात्रा (Hiking) पश्चात गत्लांग गाउँ पुगेको पत्तै भएन| गत्लांग रसुवाको एक नमुना गाविस र गाउँ हो| यो गाविसमा एकै ठाउँमा सातओटा वडाहरु रहेका छन्| त्यो भन्दा पनि रोचक कुरा त यहाँ एउटै लाममा भएका घरहरुको भित्ता (पछाडिको गारो) गाउँको सिरान देखि पुच्छरसम्म कतैपनि छुटेका छैनन्| अझ भनौ, घरको पछाडीबाट भित्ता मात्र हेरेर कतिओटा घरहरु एकै लाममा छन् भन्न गाह्रो हुन्छ भने घरका छानाहरू काठै-काठले मात्र बनेका र काला रंगका छन्|  अर्को रोचक कुरा यो गाउँ तामांगहरुको जिउदो संग्रहालयको रुपमा गिनिज बुकमा लेखिने तरखरमा पनि छ| यहाँ ट्रेकिंगमा आउने कुहिरे लगायत नेपाली पाहुनाहरुको लागि यो गाउँ एउटा राम्रो आकर्षणको केन्द्र बन्छ|
तमांगहरुको जिउदो संग्रहालयको रुपमा रहेको गत्लांग गाउँ|
         यो गाउँबाट नजिकै पार्वती कुण्ड भन्ने कुण्ड पर्छ जुन समुन्द्री सतहबाट १०,००० फिट उचाइमा पर्छ| तर यसपाली यो कुण्ड सम्म पुग्ने अवसर जुर्ला जस्तो मलाई लागेको छैन| पार्वती कुण्डको उत्पतिको बारेमा एउटा किम्बदन्ती निकै प्रचलित रहेको पाइन्छ| जलश्रोत विकाश संस्था, नेपालका सफालय अमात्यले (Saphalaya Amatya) आफ्नो किताब "पानि र संस्कृति" (Water and Culture) मा पनि त्यो किम्बदन्तीको बारेमा लेखेका छन्| उक्त किम्बदन्तीको अनुसार शिव र पार्वती बिहेपछि यो कुण्ड भएको ठाउँ वरीपरि घुम्न जाने गर्थे| यसै गरि घुम्ने क्रममा एकदिन पार्वतीलाई निकै तिर्खा लाग्यो तर त्यो तिर्खा मेटाउन कतै पानि नभेटेपछि शिवले उक्त कुण्डको सिर्जना गरे| पार्वतीले उक्त कुण्डबाट पनि खाइसकेपछि त्यहाँ निदाएकी थिईन्| यसैले यो कुण्डको नाम पार्वती कुण्ड रहन गयो| यो कुण्डमा महाशिवरात्रि, बालाचतुर्दशी, बैशाख पुर्णिमा, जनैपूर्णिमा, भदौमा गोसाईकुण्डमा मेला लाग्ने समयमा यो कुण्डमा निकै ठुलो मेला लाग्ने गर्छ| यो कुण्डमा नुहाएपछि शरीरका रोगब्याधीहरु नासिनुका साथै मागेको कुरा पाईने भनाई पनि छ|

          यसरी मेरो जीवनमा आजसम्म मैले नेपालमा चढेको उचाईहरु मध्य सबैभन्दा धेरै उचाई भएको ठाउँमा पुगेर होम-स्टे लगायत विभिन्न नयाँ अनुभवहरु संगाल्ने मौका मिलेको छ| यो अनुभूति र संस्मरणको उत्तरार्धमा आइपुग्दा फेरी पनि अगाडीकै वाक्यहरुलाई पुनः एकपटक दोहोर्याउन चाहान्छु: जीवनमा एउटा नयाँ अनुभव अनि सुखद अनुभूति हासिल गर्ने मौका मिलेको छ; नयाँ ठाउँमा नयाँ अनुभव लिनु निकै उत्साहजनक हुदोरहेछ|

मैले उक्त दिन बाटोमा खिचेका केही तस्बिरहरु:
गत्लांग जाने बाटो|

पहाडबाट बेसीतिर काठ ओसारपसार गर्ने तरिका|

गत्लांग जादा बाटोमा देखिएको बेलको काँडासंगै भएको फुल|

निकै पर्खाई र मेहेनत पछि मैले पानीको थोपा खस्न लागको तस्बिर कैद गर्न सकेको थिए|

गत्लांग जादा बाटोमा देखिएको किराले बनाएको गोलो|

बाहुनडाडा बाट देखिएको गोल्जुंग गाउँ|

म बसेको होम-स्टेमा देखिएको भान्साको दृश्य| 

भान्सामा राखिएको भाडाहरु| 

Post a Comment