इतिहासको एउटा ट्र्याजडी: भीमसेन थापाको आत्महत्या|


श्रावण ११ - ठीक यही समय हो । आजभन्दा १ सय ७५ वर्षअगाडि भीमसेन थापा मृत्यु आत्मसात् गर्न बिभत्स रूपले संघर्ष गर्दै थिए । सायदै कसैले सोचेको थियो, मुख्तियारका रूपमा ३१ वर्ष देश चलाएका यिनको मृत्यु यति दुःखद हुनेछ । ग्रिक नाटकहरूभन्दा पनि बडो वियोगान्त बन्यो भीमसेन थापाको अन्त्य ।
Bhimsen_thapaमहारानी साम्राज्यलक्ष्मीका नाबालक छोरा देवेन्द्रविक्रमलाई विष खुवाएर मारेको आरोपमा थापा नजरबन्दमा परेका थिए । नजरबन्दमै उनले सुनेछन्, आफ्नी कान्छी श्रीमतीको हुर्मत लिइँदै छ । इतिहासकार बाबुराम आचार्यले लेखेका छन्, 'यस्तो हल्ला त्यति बेला पूरा काठमाडौंमा फैलिएको थियो । यो हल्ला भीमसेन थापासम्म पनि पुग्यो ।' स्वाभाविक रूपमा उनी स्तब्ध भए । अर्का इतिहासकार चित्तरञ्जन नेपालीले लेखेका छन्, 'उनकी स्त्री (भक्तकुमारी) लाई वस्त्रहीन तुल्याई सहर डुलाउने भएको छ र उनले यो दृश्य गुहुमा गाडिएर हेर्नुपर्नेछ ।' थापाको घोर बदनामी हुँदै थियो, उनी त्यसलाई जिउँदै हेर्न र सुन्न चाहँदैनथे । उनलाई भीषण आघात पुगेको थियो।

१८९६ साउन ८ को दिन थापाले आफ्नो जीवनलाई लिएर एक अप्रत्यासित निर्णय गरे, आत्महत्याको । निगरानीमै राखिएको कोठामा उनले खुकुरीद्वारा सेरिएर मृत्यु आत्मसात् गर्ने कदम चाले । निगरानीको स्थितिमा पनि त्यहाँ खुकुरी कसरी पुग्यो ? यो प्रश्नले अझै उत्तर खोजिरहेको छ । केही इतिहासकारले भीमसेन थापाले काँचले सेरिएर आत्महत्याको प्रयास गरेको पनि भनेका छन् । जस्तो चित्तरञ्जन नेपालकै अनुसार, 'उनले विह्वल भई रन्थनिएर झ्यालको ऐना फोडी त्यसैको टुक्राले आफ्नै गलामाथि प्रहार गरे ।'
जे होस्, आत्महत्या प्रयासको यो समाचार राजा राजेन्द्र र महारानी साम्राज्यलक्ष्मीसम्म पुग्नु थियो, पुग्यो । यसलाई लिएर उनीहरू अझ क्रुद्ध भए । बाबुराम आचार्यलाई मान्ने हो भने तत्काल उपचार भएको भए, उनी सजिलै बाँच्ने थिए । राजा रानीकै आदेशमा रगतले लतपतिएको उनको अर्धचेत शरीर विष्णुमती नदीको बगरमा फ्याँकियो । यही स्थितिमा उनी नौ दिनसम्म बाँचे । वर्षादको समय थियो, त्यसै स्थितिमा प्राण त्यागका लागि छटपटाइरहे । अन्ततः साउन १६ मा मृत्युवरण गरे ।
कथा यतिकै सकिन्न । लासको सम्मानपूर्वक दाहसंस्कार गर्नसमेत दिइएन । खासमा सामान्य तरिकाले पनि जलाउन दिइएन् । बरु स्याल, कुकुर र गिद्धलाई खान दिइयो । कतिसम्म भनिन्छ भने, उनको लासलाई टुक्रा टुक्रा पारेर काठमाडौंका ठाउँ ठाउँमा फ्यालिएको थियो । 'नेपाली इतिहासमा यति ठूलो व्यक्तित्वको यस्तो बिभत्स मृत्यु कहिल्यै भएको छैन, यस्तो दर्दनाक स्थिति पनि कहिल्यै बनेन,' इतिहासका प्राध्यापक भवेश्वर पँगेनी मान्छन् ।
भीमसेन थापाले जहाँ मृत्युवरण गरे, त्यहाँ अहिले भीममुक्तेश्वर शिवालय छ । अहिलेको आधुनिक त्रिपुरेश्वरमा रहेको यो शिवालय माथवरसिंह थापाले बनाइदिएका हुन् । बाबुराम आचार्यले आफ्नो पुस्तक 'अब यस्तो कहिल्यै नहोस्' मा थप लेखेका छन्, 'यस शिवालयले त्यहाँ रहेर अझैसम्म पनि यिनको हृदयविदारक आत्मघात र अमानुषिक यातनाको सम्झना गराउँदै रहेको पाइन्छ ।' थापाको अन्त्य वास्तवमै हृदयविदारक छ, त्रिविविको इतिहास केन्द्रीय विभागका प्रमुख विजय मानन्धर यही भन्छन् ।
भीमसेन थापाप्रति पर्याप्त सहानुभूति राख्ने चित्तरञ्जन नेपालीले त्यसै घटनालाई लिएर एउटा अनौठो तथ्य खुलासा पनि गरेको पाइन्छ । उनले आफ्नो पुस्तक 'जनरल भीमसेन थापा र तात्कालीन नेपाल' मा लेखेका छन्, 'यसरी फ्याँकिएको भीमसेन थापाको लासबाट अचानक खप्पर र हातहरू गायब भएका थिए । हात अझै पनि चौतारिया फत्यजंगका सन्तानको घरमा सुरक्षित छ एवं प्रतिवर्ष एकचोटि पूजार्थ निकालिन्छ भन्ने सुनिन्छ । अनि खप्परचाहिँ लन्डनको कुनै आजयव घरमा सुरक्ष्ाित छ भन्ने सुनिएको छ ।'
राजमाता ललितत्रिपुरासुन्दरीको मृत्युपछि भीमसेन थापाको पतन सुरु भएको थियो । उनी खालि 'रबरस्टायम्प' मात्र थिइन् । थापा जे भन्थे, उनी त्यही गर्थिन् । 'भीमसेन थापाको जीवनीलाई तीन भागमा विभाजन गर्न सकिन्छ, त्यसमध्ये पहिलो भाग खालि षड्यन्त्रको मात्र कथा हो,' उनलाई लिएर लामो अध्ययन गरेका अर्का इतिहासकार त्रिरत्न मानन्धरको निचोड छ, 'भीमसेन थापाले आफू शक्तिशाली हुन् एकपछि अर्को षड्यन्त्र गरे । षड्यन्त्रकै कारण उनी माथिसम्म पुग्न सफल रहे ।'
त्यसैमा मिल्ने गरेर उहीबेला बाबुराम आचार्यले लेखेका छन्, 'यस्ता अमानवीय काम काम गरेर वास्तवमा यिनले आफ्नो पतनको निमित्त खाडल आफैले उसैबेला नै खनिसकेको देखिन्छ ।' थापाले शक्तिमा हुँदा धेरै महत्त्वपूर्ण व्यक्ति र तिनको परिवारलाई त्यस्तै निर्दयी मृत्यु दिएका थिए, जुन नियति पछि आफै भोगे । यसको मुख्य कथा भने त्यति बेला पूर्वराजा रहेका रणबहादुर शाहको हत्याको प्रकरणबाट जोडिन्छ । स्वामी महाराज बनेका रणबहादुर शाहलाई भीमसेन थापाकै सल्लाहमा मुख्तियार पद दिइएको थियो ।
त्यसको केही महिनापछि १८६३ वैशाख १६ को रात कचहरी बोलाइएको थियो, राजभवन बाहिर त्रिभुवन प्रधानको घरमा । यो अहिलको आधुनिक रणमुक्तेश्वरमा पर्छ । त्यसै कचहरीमा शेरबहादुर शाहीले रणबहादुर शाहलाई तरबार प्रहार गरे । केही बेरमै उनको निधन भयो । लगत्तै बालनरसिंहको प्रहारले शेरबहादुर शाही पनि काटिए । ठीक यही बेला भीमसेन थापा नजिकैको भान्सामा खाना खाइरहेका थिए, अविश्वसनीय रूपमा । हत्याकाण्डबारे सुनेपछि उनी दृश्यमा देखिए ।
शेरबहादुर शाहीका दुई अंगरक्षक तत्काल काटिए । र, सुरु भयो- शृङ्खलाबद्ध हत्या । काजी त्रिभुवन प्रधान र नरसिह गुरुङ थुनिए । शेरबहादुर शाहीका दाजु विदुर शाही नजरबन्दमा परे । पाल्पाली राजा पृथ्वीपाल सेन र उनका भाइ त नजरबन्दमै थिए । हेलम्बुमा रहेका महारानी राजराजेश्वरीलाई पनि बोलाइयो । यिनीहरू सबै भण्डारखालको बगैंचामा काटिए, कुनै पुर्पक्षबिना । विदुर शाहीका नाबालक छोराहरू पनि बचेनन् । त्रिभुवन प्रधानका नातिहरू पनि विष्णुमती नदीमा काटिए ।
पाल्पाली राजाका १८ अंगरक्षकले पनि ज्यान गुमाए । त्यसको अर्को दिन १३ अरू भारदार मारिए । राजराजेश्वरी १४ सुसारेहरूसँगै सति जान बाध्य पारिइन् । यसरी दुई सातासम्म लगातार हत्या शृङ्खला चलेको थियो, जसमा १६ महिला र ७७ पुरुषले ज्यान गुमाए, बाबुराम आचार्यले मृत्यु हुनेको संख्या यही टिपाएका छन् । 'यो हत्याकाण्ड कोतपर्वभन्दा पनि घटिया थियो, यसमा राति सुतिरहेका बालक र वृद्धलाई पनि छाडिएन,' इतिहासकारद्वय तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्रले लेखेका छन् । त्यसपछि भीमसेन थापा मुख्तियार बने ।
उनीहरूकै भाषामा, 'यो हत्याकाण्ड नेपालको इतिहासमा राजनीतिक परिवर्तनको घटना थियो । अब राजपरिवारबाट भारदारमा शक्ति र सत्ता हस्तान्तरण भयो । राजपरिवारको भूमिका न्यून हुँदै गयो । नरसंहार गरी सत्तामा आउने परिपाटी देखापर्‍यो । यस्ता घटनाहरू पुनरावृत्ति हुँदै गए । अन्ततोगोत्वा यस्तै हत्याकाण्डबाट जंगबहादुर सत्तामा आए । यस अर्थमा भीमसेन थापा जंगबहादुरका मार्गदर्शक देखिन्छन् ।' केही इतिहासकारले रणबहादुर शाहको हत्याको अपुष्ट आरोप भीमसेन थापातिर लगाएका छन् ।
भीमसेन थापा वास्तवमै कस्ता थिए त ? आधुनिक समयमा उनलाई हेर्ने दुई ठ्याक्कै फरक दृष्टिकोण पाइन्छ । दुई 'स्कुल अफ थट्स' । एकातर्फ त्यस्ता इतिहासकारहरू छन्, जसले भीमसेन थापाको गुनगान मात्र गाउँछन् । उनीहरू सिधै भन्छन्- हाम्रा भीमसेन थापा । उनीहरू भीमसेन थापाप्रति खुबै सहानुभूति राख्छन् र उनको आत्महत्यालाई यो भनाइसँग जोड्छन्, 'सतिले सरापेको देश ।' अर्कातिर यस्ता इतिहासकार छन्, जसले भीमसेन थापाको दुर्गुण मात्र देख्छन् । उनीहरू भन्छन्- तिम्रा भीमसेन थापा । उनीहरू मान्छन्, 'जसरी भीमसेन थापा अरूको लासमाथि टिकेर सर्वशक्तिमान बने, उनको पतन पनि त त्यस्तै रह्यो । कुन नयाँ तथ्य रह्यो र ? भीमसेन थापाले जे जस्तो गरे, त्यस्तै बेहोर ।'
अङ्ग्रेजसँग लड्नु ठीक थियो अथवा थिएन त ? भीमसेन थापा जीवित छँदै विवाद थियो, जुन अहिलेसम्म पनि छ । आखिरमा त्यही युद्धले नेपालले आफ्नो एक तिहाई भूभाग गुमाउनुपरेको थियो । त्यसको अपजस पनि उनैलाई जान्छ । तर अवस्था युद्ध रोकेर रोक्न नसकिने स्थितिमा पुगिसकेको दाबी गर्नेहरू पनि त छन् ।
'यो युद्धपछि भने भीमसेन थापा असाध्यै राष्ट्रवादी बने । देशलाई कसरी फेरि बलियो बनाउन हो, त्यसतर्फ लागे,' भीमसेन थापाको जीवनको एक भागको रूपमा रहेको त्यस स्थितिलाई त्रिरत्न मानन्धरले चित्रण गरेका छन् ।
कोतपर्व र भीमसेन थापाले मच्चाएको हत्याकाण्ड दुई फरक प्रकृतिका थिए, तिनमा समानता पनि धेरै थियो । तर कोतपर्वको जति नेपाली इतिहासमा चर्चा भएको छ, त्यसरी नै विक्रम संवत् १८६३ को घटनालाई उठाइएन ।
सायद सात सालपछि धेरै इतिहासकारले राणाशासनको आलोचना गर्नमै बढी समय खर्चे । सत्र सालपछि यो प्रवृत्ति अझ चर्कियो कि ? वास्तवमै भीमसेन थापाले मच्चाएको हत्याकाण्डबारे पछिका इतिहासकारहरूले कलम चलाउने साहस देखाएका हुन् । फेरि भीमसेन थापाले आफ्नो मुख्तियारीका बेला विकास र सुधारका लागि केही नगरेका पनि होइनन् । 'भीमसेन थापाले जुन दिन आत्महत्याको प्रयास गरे र जसरी उनको मृत्यु भयो, ती सबै नेपाली इतिहासका काला दिन हुन्,' इतिहासकार भवेश्वर पँगेनीको निचोड छ, 'उनको अवसानको १ सय ७५ वर्षपछि अब समय आएको छ, भीमसेन थापाका सानाभन्दा साना कामको मूल्यांकन गर्ने, उनले गरेका सकारात्मक र नकारात्मक कामको सूक्ष्य अध्ययन गर्ने । र, यथार्थ विवरण लेख्ने ।'
इतिहासको सिद्धान्तले पनि भन्छ, प्रत्येक पुस्ताले फेरि दोहराएर इतिहास लेख्नुपर्छ, किनभने त्यसलाई हेर्ने दृष्टिकोण समयअनुसार फेरिएको हुन्छ ।
लेखक: हिमेशरत्न बज्राचार्य| प्रकाशित मिति: २०७१ श्रावण ११ ०१:४५ |
Post a Comment