धुन्चे रसुवा जादाको र जागिरको पहिलो दिनको अनुभव|

मिति: माघ ३ गते, शुक्रबार|
Jan 17 2014 Friday

सुआहरा कार्यक्रमलाई थप प्रभावकारी बनाउनको उक्त कार्यक्रमसंग सम्बन्धित स्थानीय गैर-सरकारी संस्थाहरुमा केही पदहरु थप गर्ने भएको रहेछ| त्यो मध्ये कृषि प्राबिधिक सहायकको पदको दरबन्दी खुला गरिएको रहेछ| उक्त कार्यक्रमको लागि हेलेन किलर इन्टरनेसनलमा अन्तरवार्ता दिएपछि  Rural Access Development and Research [RADAR], Nepal अन्तर्गत रहेर नेपालको दुर्गम जिल्लाहरु मध्ये एक मानिने रसुवाको धुन्चेमा कृषि प्राबिधिक सहायकको रुपमा काम गर्ने सुनौलो अवसर मिल्यो| [राडार र सुआहरा के हो भन्ने कुरा मैले अर्को ब्लगमा लेख्ने छु| त्यसको लागि http://bijeshmishra.wordpress.com हेर्दै गर्नुहोला|]

मिति २०६४ साल माघ १ गते राडारसँग नियुक्ति पत्रमा हस्ताक्षर गरेपछि माघ २ गते धुन्चे जाने कार्यक्रम बन्यो| साथमा म संगै Data Management Officer पदमा नियुक्ति लिनुभएको अर्का एकजना बि.पी.एच्. गर्नु भएको साथी अमृत ड़ागी र राडारको Account हेर्ने साथी चन्द्र के.सी. संगै एउटै गाडीमा जाने भनेतापनि चन्द्रजीको कार्य-व्यस्तताले गर्दा हामी दुई जनामात्र जाने निश्चित भयो| अमृतजी पहिले पनि गोसाईकुण्डसम्म पुग्नु भएकोले धुन्चेसम्म जानको लागि बाटो लगायत अन्य कुराको गारो नपर्ने भयो| हामीसँग धुन्चे राडारमा Field Coordinatorको रुपमा कार्यरत शिव पाण्डे मेडमको सम्पर्क नम्बर भएकोले र कार्यलय सहायक किशोर तमाङ्ग दाईले पनि सहयोग गर्ने भएपछि हामीलाई कुनै समस्या नपर्ने भयो| बस्नको लागि कोठाको बन्दोबस्त पनि किशोर दाईले गरिसक्नु भएको थियो| त्यसको सबै व्यवस्था चन्द्रजीले फोनमार्फत मिलाउनु भएको थियो| माघ एक गते नै धुन्चेसम्म पुग्ने टाटा सुमोको टिकट लिईसकेका थियौ| त्यसपछि मैले उक्त दिन कोठामा आएर नुहाईधूवाई, झोला मिलाउने जस्ता कामहरु पनि गरे|
अमृतजी र म ढुंगे बजार त्रिशुलीमा खाना खाएपछि|
माघ २ गते बिहान म कपुरधाराको कोठाबाट ममि र बहिनीसँगै ट्याक्सी लिएर माछापोखरी स्थित टाटा सुमोको अफिसमा पुगे| म भन्दा केही अघिमात्र साथी अमृत पनि आइपुग्नु भएछ| करिब आठ बजेतिर हामी धुन्चेको लागि काठमाण्डौबाट हिड्यौ| गाडी कलंकी, थानकोट, नौबिसे, गल्छी हुदै त्रिशुलीतिर मोडियो, मलाई नयाँ ठाउमा जान लागकोले र व्यवसायीक जिबनको सुरुवात हुन लागेकोले गर्दा रमाइलो अनुभव भइराखेको थियो| कहिले खोलाको तिर, कहिले पहाडको खोच र कहिले गाउ अनि बस्ति हुदै घुइकिएको सुमोमा यात्रा रमाइलो भइरहेको थियो| सिटमा चार जना कोचिएर बस्नु परेकोले अलि असजिलो अनुभव भने भएको थियो| एकैचोटी गाडी बिदुर नगरपालिका १ स्थित ढुंगेबजार, त्रिशुलीमा रोकियो र जिम्बु रेस्टुरेन्ट एंड बारमा गएर खाना खायौ| खाना खाएपछि त्यहाँबाट हिडे पश्चात कयौ नेपाली सेना, जनपथ प्रहरी र ससस्त्र प्रहरीको चेकपोस्टहरु पार गर्दै अगाडी बढ्दै गयौ| कतिपय ठाउँमा बाटोले बेसीशहर गएको (सागुरो बाटो) झल्को दिन्थ्यो, कतिपय ठाउँमा बन्दीपुर गएजस्तो (घुमाउरो बाटो) लाग्थ्यो त कतिपय ठाउँमा भने दार्जिलिंग (कुहिरो र जाडो) जादाको याद ताजा भएर आउथ्यो|
माथि बायाबाट तलतिर: हामी आएको टाटा सुमो, त्रिशुलीको ढुंगे बजार, खाना खाएको होटल अनि होटेलको बोर्ड| खान मन भए फोन गरौ है| नम्बर लेखेको छ| मैले चाही खाईन|
राम्चेको पहिरो नजिक आएपछि भने करिब एक घण्टाजति निकै डरलाग्दो, कच्ची र सागुरो अनि मुस्किलले ढुंगाहरुले मात्र धानेको बाटो पार गर्नुपर्यो जुन देख्दा मन नै सिरिङ्ग भएर आउथ्यो साथै बाटो कच्ची भएकोले गर्दा धुलोको समस्या पनि उस्तै थियो|  राम्चेको पहिरो निकै चर्चित रहेछ| सँगै आउदा W.W.F. मा काम गर्ने एकजना पौडेल थर गरेको सरसँग परिचय भएको थियो| उहाँले उक्त पहिरोलाई "कुख्यात" को संज्ञा दिनु भएको थियो| करिव एक घन्टाजतिको बाटो पहिरोको बीचबाट जादा र मान्छे खसे हाडछाला नभेटिने भिरभिरै दौडिदा मन रोमान्चित भएको र डराएको दुवै थियो| मैले उक्त भागको केही फोटोहरु पनि खिच्न सकेको थिए| गाडी भित्रैबाट भएपनि ति दृश्यहरु तथा अनुभवहरु मेरो लागि नौलो नितान्त नौला थिए| साथै नागबेली बाटोबाट निकै नजिकजस्तो देखिने लामटांग हिमालले लुकामारी खेलेको दृश्यपनि कम मनमोहक थिएन| वर्षाको समयमा त्यो बाटो पैदल हिड्नुको विकल्प छैन रे| स्थानीय बासिन्दा र मोटर चालकका अनुसार वर्षाको समयमा उक्त ठाउँलाई छोडेर त्यो ठाउँभन्दा माथि र तल दुवैतिर गाडीको व्यवस्था गरिन्छ रे| तलबाट  वा राजधानीबाट आउने यात्रुलाई तलको गाडीले त्यो पहिरोसम्म ल्याएर छोड्ने र यात्रुहरुले त्यो पहिरो पैदल पार गरेपछि माथि बसेका गाडीहरुले यात्रुहरुलाई धुन्चेसम्म पुर्याउने गर्छन रे| त्यो एक घण्टाको अलावा एकाद ठाउमा छोडेर बाटो सबै कालो पत्रे गरिएको छ र खासै चिन्ता लिनु पर्ने अवस्था छैन|
राम्चेको पहिरो लगायत अन्य पहिरोहरु| यिनै पहिरोको बीचबाट बाटो छिचोल्नु पर्ने हुन्छ|
यस्तै अनुभवहरु संगाल्दै करिब पाँच घण्टाको यात्रा पश्चात करिब एक बजेतिर पहिलो पटक रसुवाको सदरमुकाम धुन्चे आइपुगियो| आईपुग्ने बित्तिकै किशोर दाइलाई सामानको जिम्मा लगाएर राडारको अफिसमा शिव पाण्डे म्यामलाई भेट्न गयौ| उहाँ पनि फिल्ड हिड्न लाग्नु भएकोले परिचय बाहेक केही हुन पाएन| खुसीको कुरो हामीले कार्यलय चिन्ने मौका भने पायौ|  हामीलाई पनि फिल्ड पठाउने कुरा भएको थियो तर हामीलाई कोठा मिलाउन पर्ने तथा थाकेकाले हामीले जान इन्कार गर्यौ| कार्यलय चिनेपछि हामी किशोर दाईलाई लिएर कोठाको बन्दोबस्त गर्नतिर लाग्यौ| केही बेरमा खानेबस्ने लगायत सबैकुराको व्यवस्था भयो| अफिससंगै टासिएको घरमा भएको होटेलमा खाना खाने र त्यही घरको पछाडिको कोठामा बस्ने व्यवस्था भएको थियो| खाना, बस्न र कोठामा समानको बन्दोबस्त गरेपछि एकछिन बाहिर निस्कन खोज्दा चिसो हावा चलेकाले अफिसभित्रै हिटर तापेर नेट चलाउदै बस्यौ| करिब सात बजेतिर अफिसबाट निस्किएर खाना खाएर सुत्ने तरखर गर्न थाल्यौ| हिजो (माघ २ गते) नै लेख्छु भनेर सोचेको यो दैनिकी सोच्दा सोच्दै कुन बेला निदाएछु मैले पत्तै पाईन|
पहिरोको बीचबाट गएको कच्ची मोटर बाटो| यो बाटोको हालत बर्षाको समयमा के हुन्छ म अनुमान पनि गर्न सक्दिन|
धुन्चेबारे केही जानकारी|
धुन्चे करिब समुन्द्री सतहबाट करिब दुई हजार मिटर माथि पर्छ| दुर्गम जिल्लाहरु मध्ये एउटा पर्ने रसुवाको सदरमुकाम धुन्चेमा बजार करिब रामपुर बजार जत्रै वा भन्सार बजारभन्दा पनि सानो छ| तर सुबिधाको हिसाबले रामपुर बजार र भन्सार बजार दुवै भन्दा धेरै राम्रो छ| यहाँ बस्नको लागि सामान्य देखि लिएर सुबिधा सम्पन्न होटलहरु छन्|  मैले यहाँ यो जाडोको समयमा पनि पर्यटकहरु आउने जाने गरेको देखे| पर्यटकिय क्षेत्र भएकोले गर्दा पनि यहाँ सुविधाहरु राम्रो भएको हुन सक्छ| प्रतिकुल मौसम बाहेक अरु समय धुन्चेमा लोडसेडिंगको समस्या भने नहुने रहेछ| यहाँका स्थानीय बासिन्दाका अनुसार चिलिमे जलबिध्युत आयोजनाको मर्मत पछि एक-दुई घण्टा मात्र हुने लोडसेडिंग पनि हटेको छ| पानि पनि २४/७ उपलब्ध हुने रहेछ तर निकै चिसो छ| काठमाण्डौँमा सबैभन्दा चिसो लाग्ने पानि पनि यहाँको पनि छोएपछि तातो लाग्न थाल्छ| त्यसैले कतिपय घरमा सोलार हिटरको व्यवस्था पनि गरिएको छ भने सोलार हिटर राख्न नसक्नेहरुले पानि तताएर नुहाउछन्| हातमुख मात्र धुँदा पनि रगत बाहेक (मुटुले संचार गराउने भएर होला) अरु सबै जमेको अनुभव हुन्छ भने अनुहारमा तिन पटक भन्दा बढी पानि हाल्न मुस्किल नै पर्छ| मैले भने काठमाण्डौँमा गएर मात्र नुहाउने विचार गरेको छु बरु अफिसले कहिले पो पठाउछ त्यो भने थाहा छैन; नुहाउन मात्र काठमाण्डौँ जाने कुरा पनि भएन| [अलिकति ठट्टा]

धुन्चेमा बिहानदेखि बेलुकासम्म एकनासले चिसो हावा चल्छ| यदी हावा नचल्ने हो भने काठमाण्डौँ भन्दा यहाँ धेरै जाडो हुदैन तर चिसो हावाको कारणले गर्दा केही जाडोको अनुभव हुन्छ| टोपी झोलामा हालेर हिड्नु पर्ने हुन्छ र जहाँ अलि धेरै हावा चल्छ त्यहाँ निकालेर लगाईहाल्नु पर्ने हुन्छ नत्र दिनभरि र रातभरी टाउको दुख्ने समस्या हुन्छ| अनुहार तथा देखिने छालामा कोल्ड क्रिम लगाउनु उपयुक्त हुन्छ| तर बिहान सात बजे तिर नै घाम लाग्ने हुनाले सितको वा तुसारो समस्या भने खासै पर्दैन| यहाँका स्थानीय बासिन्दाका अनुसार बिगत तिन वर्षदेखि धुन्चेमा हिउँ परेको छैन र यसपाली माघे सक्रान्तिमा पानि पनि परेन रे| त्यसैले अहिले खासै जाडो छैन| म भने हिउको प्रतिक्षामा छु| कम्तिमा मेरो हिउ खेल्ने रहर व्यावसायिक जीवनको सुरुवात भएको जिल्ला रसुवाको सदरमुकाम धुन्चेले पुरा गर्दिन्छ कि?

किशोर दाईको अनुसार यहाँ करिब नब्बे प्रतिशत तमाङ्ग बस्ति छ भने अन्य जातिहरु थोरै मात्रमा तर प्रायः सबै जातिहरु छन्| मैले कतिपय घरको भित्ताहरु ढुंगाले मात्र बनेको (ढुंगाहरुलाई माटो वा सिमेन्ट बालुवाको मिश्रणले जोडिएको छैन) पनि देखे| घरहरु भिरालो छाना भएका धेरै छन् भने मुख्य बजार क्षेत्रमा R.C.C.  गरेको पक्कि घरहरु पनि छन्| कतिपय घरहरुको भित्रि कोठाहरु काठको फल्याकले बारिएका छन्| मैले कम गर्ने राडारको अफिसको कोठाहरु पनि त्यस्तै छन्| सुआहराको जिल्ला कार्यलय बसेको भवन भने पक्कि छ| म बसेको घर पनि पक्कि नै छ तर सबैभन्दा माथिको छाना भने टिनको छ| यहाँका प्राय घरहरु यस्तै डीजाइनमा नै बनेका छन्|
माथि भनिएको जस्तो घर| भित्तामा राम्रोसंग हेर्यो भने कतै पनि माटो वा सेमेंट र बालुवाको प्रयोग गरको देखिदैन| यो घर कति सुरक्षित होला?
यहाँबाट घुम्नको लागि नजिक पर्ने केही ठाउँहरुमा धुन्चेबेसी, लामटांग रास्ट्रिय निकुन्ज, मिनी गोसाईकुण्ड (पैदल आधा घण्टाको दुरी), देउराली (एक दिनको हाइकिंग प्याकेज), तातोपानि नाका (गाडी वा बाइकमा करिब दुई घण्टाको दुरी), यार्सा (५-६ घण्टाको गाडी र पैदल यात्रा) लामटांग हिमाल, गोसाईकुण्ड (करिब एक दिन) आदि छन्| धुन्चे पनि आफैमा एउटा रमाइलो ठाउँ हो: यहाँ २-३ दिनलाई घुम्ने हिड्ने र हेर्न पुग्ने ठाउँहरु छन्|

जागिरको पहिलो दिन| (Jan 17, 2014 Friday) (माघ ३, २०७० सुक्रबार)

आजसम्म आएको २ दिन भईसक्यो तर न राडारको सबै कर्मचारीहरुलाई भेट्ने मौका जुरेको छ न सुआहराको जिल्ला कार्यलयको कर्मचारीहरुलाई| यहाँ राडार र सुआहराका सबै कर्मचारीहरु भेट्ने भनेको जिल्लाको मिटिंग र राडारको मिटिंगमा मात्र रहेछ| प्राय कर्मचारीहरु सबै फिल्डमा मात्र भेटिने रहेछन्| त्यो पनि टाढाको फिल्ड भए ४/५ दिनसम्म पनि भेट्न गारो हुनेरहेछ| राडारको एकजना फिल्ड सुपरभाइजर रुबिनाजीको छेत्र अफिस वरिपरी भएकोले उहाँसँग मात्र भेट्ने मौका पाइयो| शिवजी पनि फिल्डमा जानु भएकोले सायद आइतबार वा सोमबार नभई भेट हुने संकेत छैन| राडारको चन्द्रजी पनि धुन्चे आउन नपाउदै फिल्ड जानु भएको छ भने कार्यलय सहयोगी किशोर दाई पनि दुइ दिनको लागि फिल्ड जानु भएको छ| अफिसमा हामी दुई जना (म र अमृतजी) मात्र छौ| कामको मेसो नभएकोले कतिपय फिल्ड छुटेको छ भने कतिपय कार्यक्रमको बारेमा जानकारी नै छैन| आजसम्म हाजिर पनि गर्न पाएको छैन| थाहा छैन यो अवस्था कति समय रहन्छ| म त काम के गर्ने भन्ने थाहा नभएर रनभुल्लमा छु| राडारको कर्मचारीहरुको मिटिंग January २३ मा हुने कुरा छ| त्यो भन्दा अगाडी जिम्मेवारी खासै पाउने अवस्था छ जस्तो मलाई लाग्दैन| जिल्ला कृषि बिकाश कार्यलय नजिकै भएपनि चिनजान गर्न जाने मौका पनि मिलेको छैन|
जिल्ला कृषि बिकाश कार्यलय,रसुवाको कार्यलय भवन| 
करिब एघार बजेतिर महिला जन-स्वयंसेविकाहरुको मिटिंगमा सहभागी भएर (यहाँको महिलाहरुमा आएको स्वास्थ्य सम्बन्धि चेतना र त्यसमा सुआहरा कार्यक्रमको प्रभाव बारेमा अर्को ब्लग पोस्टमा लेख्ने छु) फर्केपछि अफिसमा बस्दै गर्दा सुआहरको एक जना दिपा भन्ने दिदि आउनु भयो| दिपा दिदि यो महिना (January) भित्र सक्नुपर्ने कार्यक्रमको बन्दबस्तको लागि आएको भन्दै हुनुहुन्थ्यो| उहासँग दिउसो र सुआहराको Account सरसँग बिहान भेट्ने मौका मिल्यो| दिदिसँग जिल्ला स्वास्थ्य कार्यलय गएर जिल्ला स्वास्थ्य प्रमुखसँग भेट्ने मौका मिल्यो भने करिब छ महिना अघिमात्र धुन्चे आउनु भएको र पहिले डुम्रेको मोति मेडिकल हलमा धेरै नै समय (करिब सात बर्ष) काम गर्नुभएको एकजना "होम" भन्ने ल्याब टेक्निसियनसँग परिचय भयो| त्यसपछि फर्केर सुआहरको कार्यलयमा दिदिसँगै कुरा गर्दै बस्दै आजको दिन बित्यो| करिब ४:३० तिर सुआहराको कार्यलयबाट निस्किएर राडारको कार्यलयमा आएपछि करिब छ बजेसम्म इन्टरनेट चलाउदै र हिटर ताप्दै बसेर खाना खाने बेला भएपछि कोठातिर आयौ| सामान्य सरसफाई पछि खान खाएर कोठामा आए| केही बेर मेल हेरेर फेसबुक चलाएपछि (मेरो कोठामा अफिसको वाईफाई टिप्ने हुनाले इन्टरनेटको समस्या छैन) यो दैनिकी लेख्न बसे| अहिले करिब १२:३० बज्न लाग्यो| भोलि यो ब्लग पोस्टमा फोटोहरु समेत राखेर यसलाई पूर्णता दिने सोच बनाउदै अबको केही समयभित्र निन्द्रादेवीको सरणमा जाने सोच्दै छु| सबैलाई रसुवाको धुन्चेबाट सुभ रात्री|
Post a Comment