लघुकथा: मेरो सपनाको राजकुमार|

ऊ नेपालको ग्रामिण भागमा पर्ने कुनै बोर्डिंग स्कुलको कक्षा एकमा पढ्थ्यो| पहिलो चार पिरियड पढेपछि एक बजेको छुट्टि हुन्छ| खाजा खाने ठाउँमा एक्लै बसेर झोलाबाट खाजाको बाकस झिक्दै गर्दा एक्कासी हातबाट बाकस भुइँमा झरेर सबै खाजा पोखिन्छ| ऊ रुन थाल्छ| यत्तिकैमा एकजना आफ्नै कक्षामा पढ्ने एकजना केटि साथीले "किन रोएको? खाजा पोखिएर हो? आऊ! मेरो ममीले मिठो खाजा बनाएर पठाई दिनुभएको छ, संगै खाऊ|" भनेपछि उसको रुवाई बन्द हुन्छ| उक्त दिन उनीहरुसँगै खाजा खान्छन्, खेल्छन् र पढ्दा पनि एउटै बेन्चमा सँगै बस्छन्| त्यो दिनदेखि उनीहरु नजिकको साथी हुन्छन्| खेल्ने, खाने, बस्ने, पढ्ने जस्ता क्रियाकलापहरु सधै सँगै गर्दै जादाँ उसलाई उक्त केटी मनपर्न थाल्छ| निकै साहश गरेर उसले आफ्नो मनको कुरा कापीको पन्नामा लेखेर केटीको झोलाको बाहिरी गोजीमा राखिदिन्छ| केटीले आफ्नो झोलाबाट कलम झिक्ने क्रममा उक्त चिठी भेट्छिन र पढेपछि निकै रिसाउछिन्| उक्त चिठी स्कुलको निकै कडा मानिने एकजना शिक्षकको जिम्मा सुम्पिदिन्छिन| माया गरेको बदलामा त्यसदिन उसले नराम्ररी कुटाई खानुपर्छ साथै आफ्नो निकै मिल्ने साथी पनि गुमाउन पुग्छ| त्यसपश्चात उसले केटीसँग बोल्न कयौ कोशिश गर्छ तर केटीको अगाडी उसको केही लाग्दैन| दुई, तिन चार, पाँच हुदै दश कक्षासम्म पुग्दा पनि उनीहरुको बोलचाल हुदैन| यत्तिकैमा प्रबेशिका परिक्षा पनि सकिन्छ तर उनीहरुको बोलचाल कहिल्यै हुदैन|

१०+२ को समाप्तिसँगै केटोले आफ्नो थाप्लोमा पारिवारिक जिम्मेवारी आएको महसुस गर्छ| जागिरको खोजीमा यत्रतत्र भौतारिदै जादाँ कसैले उसलाई फ्रेन्च आर्मी बनाइदिने प्रस्ताव राख्छ| केटोको मनमा तर्कनाहरुको  घमासान युद्ध चल्छ; ऊ निकै दुबिधामा पर्छ| | अन्तमा उसले आफ्नो सुन्दर भविष्यको लागि एकपटक आफ्नो जिवनलाई दाउमा राखेर आर्मी बन्ने सपनाको लिएर विदेशतिर हानिन्छ| आफ्नो गन्तव्यमा ऊ सफल पनि हुन्छ| गाउँ गाउँमा उसले गरेको प्रगति र उसले कमाएको धनको प्रसंसा हुन थाल्छ| सबैले उसको गुणगान गाउन थाल्छन्|

यत्तिकैमा आफ्नो छुट्टि मनाउन ऊ नेपाल आउछ| उसको संयोगबस् बालापनदेखि मनपराएको साथीसँग भेट हुन पुग्छ| यसपाली उसलाई उनिसँग बोल्न कुनै कठिनाई पर्दैन| विस्तारै कुराकानी गर्दै जाँदा कतै मनोरम ठाउँमा घुम्न जाने प्रस्ताव गर्छ; केटी सहजै राजि हुन्छे| विस्तारै उनीहरुको हेलमेल बढ्न थाल्छ र उनीहरु प्रेममा पर्छन्| केटाले केटीलाई बिहे गर्ने प्रस्ताव राख्छ| केटी यसपाली सहजै राजि हुन्छे र केही दिनको अन्तरालमा उनीहरुको विवाह हुन्छ| केटा आफुले माया गरेको मान्छे पाएको फुरुङ्ग हुन्छ| केटीले पनि विवाह हुनुभन्दा अगाडी उनीहरु घुम्न जाँदा खिचेको तस्विरहरु आफ्नो फेसबुक प्रोफाइलमा आपलोड गर्छिन| एउटा फोटोको छेउमा भएको क्याप्सनमा "मैले जीवनमा सबैभन्दा धेरै माया गरेको मेरो एकमात्र सपनाको राजकुमार" लेखिएको देखिन्छ| केटा आफुले मनपराएको केटीलाई जीवन साथीको रुपमा पाएकोमा मक्ख छ|केटी पनि आफ्नो "सपनाको राजकुमार" पाएकोमा फुरुङ्ग छे| उनीहरुको प्रेमकथा थाहा पाउनेहरु भने फेसबुकमा नव-जोडीको फोटो हेर्दै दंग छन्|
Post a Comment