यसकारण नयाँ पार्टी: नेकपा-माओवादीको राजनीतिक प्रस्ताव ।


(१) दोस्रो राष्ट्रिय सम्मेलनमा लिइएको सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र त्यसको नेतृत्वमा संविधान निर्माण सम्बन्धी नीति कार्यनीतिका दृष्टिले मूलतः सही भएपनि त्यसले पार्टीलाई अवसरवादमा फँस्नका निम्ति ढोका खोलिदिएको र सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रुपमा विकसित विचारश्रृंखलालाई प्रचण्डपथका रुपमा नामाङ्कन गरिएकोमा सो नामाङ्कन अहिलेसम्मको स्थिति तथा व्यवहारद्वारा गलत भएको छ।
(२) केन्द्रीय समितिको बैठकमा लिइएको एक्काइसौं शताब्दीको जनवाद सम्बन्धी मस्यौदा प्रस्तावमा मित्र पार्टीहरुको सहयोगी मात्र नभई प्रतिस्पर्धी भूमिका रहने कुरा स्वीकार गरिएको र शान्तिवार्तामा आउँदा मित्रपंक्ति भन्दा बाहिरका शक्तिसंग पनि राजनीतिक प्रतिस्पर्धा गर्ने कुरा देखिएको हुँदा सो प्रस्ताव प्रस्तुत गर्नुको मूल उद्देश्य जनताको जनवादी राज्यसत्ता तथा सर्वहारा वर्गको राज्यसत्तालाई परित्याग गर्नु रहेको निष्कर्ष निकालिएको छ। साथै, कम्युनिष्ट पार्टी, जनमुक्ति सेना र नयाँ सत्तामा जनवादको विकास गर्न जरुरी भएको कुरा पनि आवश्यक छ।
(३) चुनवाङ्ग बैठकको राजनीतिक प्रस्तावमा लिइएको लोकतान्त्रिक गणतन्त्रको कार्यनीति रणनीतिक बन्न गएको साम्राज्यवादको विश्लेषण गर्दा लेनिन तथा माओको विश्लेषण धेरै पछाडि परेको र नयाँ ढंगले रणनीति तथा कार्यनीति विन्यास गर्न आवश्यक भएको कुरा देखाई रणनीतिक रुपमा लोकतान्त्रिक गणतन्त्रको पुरानै संसदवादी राजनीतिलाई अवलम्वन गर्न पुगिएकोमा त्यो गलत भएको छ।
(४) चुनवाङ्ग बैठकयता अत्यन्तै हतारमा महान् जनयुद्ध, जनआन्दोलनका उपलब्धिहरुलाई स्थापित गर्ने कुराको सुनिश्चितता बिना बाह्र बुँदे, आठ बुँदे, विस्तृत शान्ति सम्झौता लगायतका सहमति कायम गरेर नेपाली क्रान्ति तथा जनयुद्धको ओज र गरिमा, नेपाली जनताको रुपान्तरणको आशा तथा अपेक्षामाथि गम्भीर आघात पुर्‍याउने काम गरिएको छ। क्रान्तिको प्रक्रियामा सम्झौताहरु गर्न सकिन्छ र गर्नु पनि पर्दछ। परन्तु त्यसो गर्दा सर्वहारा वर्गसहित आम जनसमुदाय र क्रान्तिको हितमाथि कदापि विश्वासघात गरिनु हुँदैनथ्यो। परन्तु त्यही हुन गएको छ।
(५) पार्टीमा भएका गल्ती, कमी, कमजोरी तथा विचलनहरुलाई सच्याउनका लागि क्रान्तिकारी पक्षबाट अत्यन्तै परिश्रम हुँदै आएको छ र यसै सन्दर्भमा खरिपाटी, पालुङ्गटार लगायतका भेला एवम् बैठकहरुको महत्वपूर्ण भूमिका रहेको छ।
(६) दश वर्षको महान् जनयुद्धमा जनमुक्ति सेना नेपालको निर्माण तथा त्यसले खेलेको भूमिका, आधार इलाका तथा जनसरकारहरुको गठन, मजदुर, किसान, महिला, आदिवासी जनजाति, दलित लगायतका जनसमुदायले खेलेको भूमिका तथा विकसित भएको चेतना लगायत महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् र यिनलाई हामीले सकारात्मक अर्थमा ग्रहण गर्दै ती उपलब्धिहरुको जगमा टेकेर अगाडि बढ्नु पर्दछ।


(७) यस ऐतिहासिक राष्ट्रिय भेलाको एउटा मूल निष्कर्षका रुपमा प्रचण्ड तथा बाबुराममा गम्भीर प्रकारको दंक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा भएको ठहर गरिएको छ। क्रान्ति र महान् जनयुद्धको प्रक्रियामा प्रचण्ड र बाबुरामद्वारा सकारात्मक भूमिका पनि निर्वाह गरिएको कुरालाई स्वीकार गर्दै पछिल्लो अवधिमा दुवैमा गम्भीर प्रकारको विचलन पैदा भएको छ। यस प्रकारको विचलन सिद्धान्त, राजनीति, दर्शन, रणनीति, कार्यनीति, आचरण लगायतका सबै क्षेत्रमा देखा परेको छ। यो विचलन दंक्षिणपन्थी विसर्जनवाद, वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवादका रुपमा अभिव्यक्त भएको र पार्टीले रंग फेर्दै गइरहेको अवस्थामा त्यससित सम्बन्ध विच्छेद गरी नयाँ ढंगको कम्युनिष्ट पार्टीको निर्माण गर्न अनिवार्य छ।

(८) यही २०६९ फागुन १ गते पार्टीको महाधिवेशन आह्वान तथा आयोजना गरिने निर्णय लिइएको छ। यसै क्रममा नवसंशोधनवादी समूहको नेतृत्वले आफ्ना गल्ती कमजोरी सच्याउँदै रुपान्तरित हुन सकेको स्थितिमा एकता महाधिवेशनसम्म एकताको ढोका खुल्ला राख्ने निर्णय पनि लिइएको छ।
(९) भेलामा देशमा गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षताको स्थापना भएको स्थितिमा त्यसप्रकारका उपलब्धिहरुको रक्षा गर्दै जाने र देश अझै अर्द्धसामन्ती, अर्द्धऔपनिवेशिक तथा नवसामन्ती अवस्थाामा रहेको स्थितिमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न अपरिहार्य भएको कुरालाई स्वीकार गर्दै तदनुसार क्रान्तिको प्रक्रियामा अगाडि बढ्ने निर्णय लिएको छ। अहिलेको सन्दर्भमा जनताको संघीय गणतन्त्र तथा राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नलाई मूल राजनीतिक कार्यनीतिका रुपमा अंगीकार गरिएको छ।
(१०) जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति तथा उत्पीडित क्षेत्रका जनताद्वारा सञ्चालित आन्दोलनमा अभिव्यक्त मजदुर, किसान, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, पिछडिएको क्षेत्रका समुदायका हकहित, मुक्ति र नयाँ नेपाल निर्माणका सपना संविधान सभा मार्फत् पुरा हुन नसकेको र संविधान निर्माणको प्रक्रियामा देशी तथा विदेशी प्रतिक्रियावादी एवम् पार्टीभित्रकै अवसरवादीहरुद्वारा गम्भीर धोका तथा विश्वासघात हुन गएको अवस्थामा वर्गीय मुक्ति, पहिचान सहितको संघीयता, समावेशी समानुपातिक प्रनिधित्व, विशेषाधिकार, अग्राधिकार आदि विषयलाई लिई जनविद्रोह मार्फत् नेपाली जनक्रान्तिको तयारीको दिशामा अगाडि बढ्ने छ।
(११) संविधान सभाको विघटन भएको वर्तमान सन्दर्भमा सो संविधान सभाको पुनःस्थापना वा निर्वाचनको औचित्य नभएको कुरामाथि ध्यान दिंदै सर्वपक्षीय गोलमेच सभा, संयुक्त अन्तरिम सरकार तथा त्यसै मार्फत् नयाँ राजनीतिक निकासको कार्यनीति सही भएको र सो कार्यनीतिलाई जनताको संघीय गणतन्त्र तथा राष्ट्रिय स्वाधीनताको रक्षाको मूल कार्यनीतिको परिपूरक बनाउनु पर्ने ठहर गरिएको छ।
(१२) भेलामा नवसंशोधनवादको विरुद्ध विचारधारात्मक संघर्ष चलाउँदै पार्टीलाई व्यवस्थित, अनुशासित र क्रान्तिकारी पार्टीका रुपमा संगठित गर्ने, पार्टीमा आचार संहिता तयार पारी केन्द्रीय समितिबाट प्रारम्भ गरी त्यसको दृढ कार्यान्वयन गर्ने, जनस्वयम्सेवक तथा जनवर्गीय मोर्चालाई व्यवस्थित तुल्याइने छ। साथै देशभक्त, गणतन्त्रवादी, वामपन्थी, संघीयता पक्षधर शक्ति सहितको संयुक्त मोर्चा बनाइने छ।
(१३) गोलमेच सभा, अन्तरिम संयुक्त सरकार, नयाँ राजनीतिक निकासको तात्कालिक कार्यनीति, राष्ट्रिय स्वाधीनताको रक्षा, जनयुद्धका सहिद परिवारका लागि पूरा राहत प्रदान गर्ने, जनयुद्धमा राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरुको सार्वजनीकिकरण, भ्रष्ट तथा दलाल तत्वहरुका विरुद्ध प्रतिरोध संघर्ष, जनजीविकाका जल्दा बल्दा समस्याको समाधान, महंगी नियन्त्रण तथा भ्रष्टाचार लगायतका विषयहरुलाई लिइ संघर्ष सञ्चालन गरिने छ।
(नेकपा-माओवादीको राजनीतिक प्रस्तावको मूल पक्ष तथा निष्कर्षका सम्पादित अंश। प्रस्तावमा रामबहादुर थापाको नाम समेत रहेकोमा नागरिकन्युजको प्राविधिक कठिनाइका कारण एकजना वैद्यको नाम मात्र समावेश गरिएको हो।)

Post a Comment